9 months ago, 26 minutes read

जीवनका हरेक मोडहरु नयाँ चुनौती र बाधाहरुले भरिएका हुन्छन् तर ती चुनौतीबाट हासिल गरिने सिकाइले नै हामीलाई सफलता दिलाउन भूमिका खेल्छ। करिब ५ वर्ष अघि विवाह बन्धनमा बाँधिदा जीवनमा यस्तो समस्या पनि आउन सक्ला भन्ने लागेकै थिएन तर जीवन न हो, सबै सोचे र चाहे जस्तै कहाँ हुन्थ्यो । बिहेको ३ वर्ष पश्चात् मलाई आमा बन्न इच्छा लाग्यो । तर अन्योल र अनिश्चितताले घेरेको जीवनमा सजिलै आमा बन्न भने मेरो भागमा रहेनछ । एक वर्षसम्म जति कोसिस गर्दा पनि सफलता नमिल्दा म र मेरो श्रीमान् बिचको सम्बन्ध पनि खल्लो हुन थालेको थियो । जीवन नीरस लाग्दै थियो भने हामीलाई खुसी हुन नै कठिन हुन थालेको थियो । समाजमा बस्न पनि गाह्रो हुदै गएको थियो । नेपाली समाजको बनावट छ नै त्यस्तो, कसलाई दोष दिन मिल्यो र । तर हिम्मत नहारी वैकल्पिक बाटो प्रयोग गर्ने निर्णय गरियो । यही क्रममा हामीलाई IVF को बारे थाहा भयो ।

के हो IVF ?

सरल रुपमा भन्नु पर्दा – “प्राकृतिक रुपमा गर्भधारण हुन नसक्दा प्रयोगशालामा दम्पत्तिकै शरीरबाट डिम्ब र शुक्रकिट लिई भ्रूण सृजना गरी आमाको पाठेघरमा हालिन्छ र महिलालाई गर्भवती बनाइन्छ। यही प्रक्रियालाई नै IVF भनिन्छ ।” नेपाली समाजमा समस्याजनक मानिने धेरै कुराहरु मध्ये यो पनि एक हो । तर अबको जमाना त्यस्तो रहेन । अहिले त प्रकृतिले हामीलाई दिन नसक्ने कुराहरु पनि प्रविधिले पुरा गर्न सक्ने भएको छ । त्यसैले हामीले पनि एक पल्ट प्रविधिलाई मौका दिने निर्णय गर्यौं ।

पहिलो IVF यात्रा

२ वर्ष अघि हामीले पहिलो पल्ट IVF को बाटो प्रयोग गर्यौ । हाम्रो जीवनमा फेरि आशाको किरण झुल्केको थियो ।  त्यस दिन पनि मैले एउटा कुरा महसुस गरेँ - आज बादल लागी आकाश अँध्यारो भएपनि भोलिको घामको आशा भने आजै मार्नु हुदैन । सबै पहिले जस्तै हुन्छ झैँ लाग्यो-खुसी, सुख र हर्षले फेरि जीवनमा बास खोजेको महसुस हुँदै थियो । हामीले यो प्रक्रियाको लागि आवश्यक पर्ने सबै थोक गर्यौ र अब ढुक्क भइ बस्यौ । सुने-बुझे अनुसार लागेको थियो, अब त जीवनमा चमत्कार नै हुन्छ । म आमा बन्छु । मैले यतिका वर्षसम्म देखको सपना साकार हुँदै थियो । डाक्टरमाथि पुरापुर विश्वास थियो । प्रक्रिया अलि पीडादायी थियो तर सन्तान प्राप्तिको आशाको अघि त्यतिका सुइ, औषधि र परीक्षणहरुको केही लागेन किनभने हाम्रो सम्पूर्ण ध्येय सकारात्मक नतिजा प्राप्त गर्न केन्द्रित थियो । भ्रूण स्तानान्तरणको करिब दुइ हप्ता जस्तो पछाडि हाम्रो रिपोर्ट आयो ।

रिपोर्ट मेरो हातमा थियो, मेरो मन उत्सुकताले चार कोस माथि उफ्रिन थालेको थियो । मलाई जीवन्त महसुस हुँदै थियो । मैले रिपोर्ट खोलेँ । रिपोर्टमा असफल भन्ने शब्द थियो, त्यहीँ मेरो आखा सबैभन्दा पहिले गयो । त्यसपछि के भयो मलाई केही थाहा छैन, बस यति थाहा छ कि हामीले सपनाको घर ठड्याउन हालेको जग पनि भत्किन लाग्दै थियो । मेरो आँखा अघि कालो पर्दा जस्तो केही छायो र त्यसमा ठुलो अक्षरमा सेतो रंङले "असफल" लेखिएको थियो । असफलताको जति तितो स्वाद सायदै अरू कुनै कुराको हुँदो हो । मलाई केही पनि पत्याउनै गाह्रो भइरहेको थियो । यो सब एक नराम्रो सपना भइदिए हुन्थ्यो नि भन्ने लाग्दै थियो । हाम्रो यत्रो आशा, लगानी र दुःख सबै पानीमा गयो । त्यस दिन म एकदम भक्कानिएर रोएँ । भएको एउटा झिनो आशाले पनि काम गरेन । डाक्टरको सल्लाह अर्को कोसिस गर्नुस् भन्ने थियो । तर म एकदम टुटिसकेकी थिएँ, शारीरिक र मानसिक दुबै किसिमले । मेरो शरीरले एकदम नै पीडा भोगेको थियो । मैले एक महिना जति आराम गरेँ । त्यो एक महिनामा मैले हरेक दिन आफूलाई सम्हाल्नमा लगाएँ। आफ्नो ख्याल हामी आफैंले भन्दा राम्ररी अरू कसैले राख्न सक्दो रहेनछ भन्ने बुझेँ ।

दोस्रो IVF यात्रा

एक महिना पश्चात् फेरि एक पल्ट कोसिस गर्ने निर्णय गरियो । पछि सर्न हामीसँग उपाय थिएन । गुमाउनलाइ केही पनि थिएन । एक पल्टको असफलता पछि फेरी कोशिश गर्न मिल्ने नमिल्ने कुराको कुनै ज्ञान थिएन । डाक्टर संग सोध्यौ र उहाले भन्नु भयो “अरे किन चिन्ता लिनु भको, पहिलो IVF प्रक्रियाको असफलता पछिको ४ देखि ६ हफ्ता पश्चात नै अर्को पल्ट फेरी IVF गर्न मिल्छ ।” तर अब पैसा जुटाउन भने सोच्नु पर्ने थियो । जोखिम नमोली के नै पाइन्थ्यो र त्यसैले हामीले हाम्रो बचत रित्तो पारेर भए पनि कोशिश गर्ने निर्णय गर्यौं र डाक्टरकोमा गर्यौं । एक पल्ट फेरि आशाले हाम्रो मनमा ठाउँ लियो । मेरो शरीरलाई फेरि त्यही पीडाबाट गुज्रिनु पर्ने थियो र पनि मलाई हार मान्नु भने थिएन । फेरि मेरो शरीरमा कैयौँ सुइहरु घोपियो, विभिन्न परीक्षणहरु गरियो । अब बस नआत्तिएर पर्खिनु पर्ने थियो । पहिलो असफलतापछि म धेरै कमजोर भएका कारण यसपल्ट मेरो शरीरलाई अझ धेरै पीडा भएको महसुस हुँदै थियो । मानसिक रुपले पनि अलि कमजोर नै थिएँ । आत्मबल जुटाउन नै गार्हो थियो तर जसो तसो आफूलाई सम्हालिरहेकी थिएँ म आफैले । दुइ हप्ता जस्तो कुरिसकेपछि हामीलाई अस्पतालबाट कल आयो र रिपोर्ट लिन आउन भनियो । मेरो मनमा फेरि एक पल्ट हुण्डरी चल्न थाल्यो । मलाई फेरि त्यो रिपोर्टमा असफल भन्ने शब्द देख्न मन थिएन । रिपोर्ट लिन गइयो, मसँग रिपोर्ट पढ्न हिम्मत नै थिएन । मैले मेरो श्रीमानलाई रिपोर्ट हेर्न भनेँ अनि उहाँको अनुहार पढ्न थालेँ । उहाँले रिपोर्ट हेर्नु भयो । उहाँको मुहारमा विस्तारै अँध्यारो छाएजस्तो भयो । त्यति देखेर मैले बुझे र कति बेला मेरा आँखा बर्सन थालेछन् पत्तै पाइँन । हामी एकपल्ट डाक्टरलाई भेट्न गयौं । त्यहाँ हामीलाई सकेसम्म सम्हालिन भनियो तर मेरो मन ? मेरो मनलाई, मेरो यति पीडा भोगेको शरीरलाई र मेरो सपनालाई दिन उपयुक्त जवाफ म भेट्नै सकिरहेकी थिइँन । डाक्टरकोमा हामी लामो समय बस्यौं र हामीलाई काउन्सिलिङ् दिइयो तर यो चोट यति गहिरो थियो कि कुनै कुराले पनि भुलाउनै सकिएको थिएन ।

घर फर्कँदा मलाई जीवनको सार भेट्न पनि गार्हो भइरहेको थियो । मैले आफ्नो अस्तित्व पनि सन्तान प्राप्तिसँग नै दाँज्न थालिसकेकी थिएँ र त्यो पनि यसरी पुरा हुन नसक्दा अब मलाई आफ्नो जीवनको अस्तित्व छैन जस्तो लाग्दै थियो । के मैले मातृत्वको स्वाद चाख्नै पाउँदिन त ? के म आमा बन्न योग्य नै छैन त ? यही प्रक्रियाको लागि हामीले हाम्रो बचत त्याग्यौ, निन्द्रा त्याग्यौ, भोक त्याग्यौ र सबै थोक यसैमा लगानी गर्यौं तर अहँ आफू रित्तिएर पनि आफूले चाहेको यौटा सपना पनि साकार गर्न सकिएन ।  घर जाने यात्राभरि कुनै पनि शब्द मेरो वरपर गुन्जिएन । म र मेरो श्रीमान् दुवैसँग बोल्नलाई कुनै शब्द नै थिएन बस् सुरम्य शान्ति थियो तर मन भने दुवैको एकदम बेचैन थियो । यो शान्तिमा चर्को पीडाको चित्कार गुन्जिरहेको थियो । अब के गर्ने के नगर्ने केही पनि थाहा थिएन, म आफैसँग पनि नज़र मिलाउन सकिरहेकी थिइँन । एकातिर आमा बन्न नसकेको पीडा र अर्कोतिर बिग्रिरहेको मेरो श्रीमानसँगको सम्बन्ध । मलाई हर किसिमले हारिसकेको महसुस हुँदै थियो । मलाई जताबाट पनि समस्याले गाँजिरहेको थियो । म कतैबाट मदत माग्न पनि सक्ने अवस्थामा थिइँन । मेरो आफ्नै श्रीमान् सँगको सम्बन्ध पनि खल्लो हुन थालेको थियो । हामी बीच दिनहुँ जस्तो केही न केही कुरामा मनमुटाव भइ नै रहन्थ्यो । सानोभन्दा सानो कुरामा पनि एक जनाको असन्तुष्टि उब्जिने गरेको थियो । २ महिनासम्म म घरबाट पनि निस्किन सकिन । जीवनमा अन्धकार छाउन थालेको थियो । मैले विगतका कुरा भुलाउन कोसिस गर्न थालेँ । मलाई पहिल्यैबाट नाच्न मन पर्थ्यो र मैले त्यो समयमा आफ्नो त्यो सोखलाई अघि बढाउन थाले । इन्टरनेटमा आफूलाई भुलाउन कोसिस गर्न थाले । ६ महिनासम्म मैले मन भुलाउनको लागि हर चिज गरेँ । त्यो ६ महिनामा मैले विभिन्न बालबालिकासँग पनि समय बिताएँ । त्यही समयमा मलाई अलि बेर भए पनि मनमा शान्ति मिल्थ्यो । मैले दिनहुँ बिभिन्न सकारात्मक सोचहरुलाई बढावा दिँदै लेखहरू लेख्न थाले । मनका भावनाहरु कागजमा उतार्दा मनमा शान्ति छाउने गर्थ्यो ।

त्यस अवधिमा मैले आफूलाई दिएको समयले मलाई आफ्नो विगत पल्टाउने मौका दियो र धेरै कुराहरु सिक्नमा मद्दत पुर्यायो । विभिन्न स्रोत मार्फत मैले आमा बन्ने वैकल्पिक उपायहरुको बारे पनि थाहा पाएँ । असफलता जीवनको पाटो हो तर फेरि हिम्मत नगर्नु हाम्रो कमजोरी हुन जान्छ ।

तेस्रो IVF यात्रा

त्यही सोचका साथ मैले फेरि एकपल्ट उदाउने निर्णय गरेँ । मलाई फेरि एक पल्ट कोसिस गर्न मन जाग्यो र मैले यो प्रस्ताव मेरो श्रीमान् सामु राखेँ तर अब समस्या भने पैसाको थियो । पहिलेको दुइ पल्टको कोसिसमा हामी वित्तीय देखि लिएर हर किसिमले रित्तिएका थियौँ । हाम्रो बचत कत्ति पनि थिएन । अरु केही विकल्प पनि देखा परेको थिएन । फेरि एक पल्ट समस्या आइ पर्यो । त्यो बेला हामीले ऋण लिएर भए पनि फेरि कोसिस गर्ने निष्कर्षमा सहमति गर्यौ । कता कता मेरो शरीरले भोग्नु पर्ने पीडा सम्झिँदा चाहिँ मन कटक्क खाने गर्थ्यो तर यति नगरी कहाँ हुन्छ भनी फेरि आफूलाई  सम्झाउँदै अघि बढ्दै गर्नु पर्ने थियो । तेस्रो पल्ट फेरि मलाई कैयौं सुइहरु लगाइयो, विभिन्न टेस्टहरु गरियो र त्यही आशाले भरिएको चक्र फेरि दोहोरियो । मान्छेको मन न हो आशा गर्नु त नियम हो यसको । यस पटक पनि म धेरै आशावादी भएकी थिएँ । तर कता कता पहिलेको अनुभवले धेरै आशा गरे झन् धेरै दुःख लाग्न सक्छ भन्ने सिकाएको पनि थियो । यो पनि मनमा सम्झिँदै नै थिएँ तर असफलताको निराशा पनि एकातर्फ़ छँदै थियो । अब फेरि रिपोर्ट पर्खिनु पर्ने थियो । यसपालि मैले आफूलाई नकारात्मकताको लागि पनि अलि तयारी भने गराएकी थिएँ तर त्योभन्दा धेरै मलाई आशा नै लागिरहेको थियो । अघिल्लो दुइ पटक हुन नसकेको चमत्कारले तेस्रो मौका खोजेको पो थियो कि भन्ने लागिरहेको थियो । फेरी २ हप्ताको पर्खाइपछि रिपोर्ट पनि आयो ।

हामी फेरि रिपोर्ट लिन अस्पताल गयौँ । रिपोर्ट एस पल्ट पनि नेगेटिभ नै भएको थाहा भयो । एक पल्ट फेरि हामीले हारेका थियौँ । आफ्नो भाग्यदेखि लिएर विज्ञानका आविष्कारमाथि शङ्का जागेर आयो । मलाई आफ्नो कोख नै दोषी लाग्न थाल्यो । आफ्नै शरीरसँग घृणा भएर आउँथ्यो । यतिसम्म धोका आफ्नै शरीरबाट पाउनु पर्ला भन्ने त लागेकै थिएन मलाई । सुरुदेखिका हरेक कुरा आँखाअघि दौडिन थाले । मैले र मेरो शरीरले के मात्र भोगेन । कति पीडाबाट गुज्रिनु पर्यो हामी भन्ने याद आयो र एकैछिनमा फेरि आफ्नो शरीरमाथि दया माया जागेर आयो । त्यसपछिको मेरो आफै सँगको सम्बन्ध जोगाउने यात्रा अझ कठिन थियो । मैले विस्तारै विभिन्न समूहहरुमा जोडिएर पनि काम गर्न थालेँ । त्यस्ता समूह जसले मलाई बालबालिकासँग नजिक भएर काम गर्ने मौका प्रदान गर्थ्यो । त्यसले गर्दा मेरो मनलाई अलि भए पनि राहत मिल्थ्यो । मैले सन्तान सुखका अरु विभिन्न उपायहरुका बारेमा पनि जान्न र बुझ्नमा समय दिएँ । विस्तारै मेरो जीवन प्रतिको दृष्टिकोण सकारात्मक रुपले बदलिरहेको थियो जसले मलाई धेरै नै मदत गरेको थियो । म हरेक कुरामा सोचे बुझेर मात्र केही निष्कर्ष निकाल्ने भएकी छु । म हार्न भने सक्दिनँ र त अझै पनि सही समय आएमा सफलता नमिल्दासम्म कोसिस गर्न तयार छु ।

वैकल्पिक बाटो

आफुले सक्दो प्रयास गरिसक्दा पनि सफलता नमिल्दा खल्लो त लाग्छ नै तर त्यतिकैमा हार मानेर बस्नु भने हुदैन । IVF कै पनि ICSI, natural cycle IVF, conventional IVF, mild stimulation IVF, in vitro maturation(IVM), Frozen embryo transfer(FET), egg donor IVF, Gestational carrier IVF र embryo freezing जस्ता विभिन्न प्रकारहरु हुदा रहेछन । एक प्रक्रियाले काम गरेन भन्दैमा विश्वास नै तोड्नु नहुने रहेछ । प्रयास जारी राखे पो सफलता मिल्छ भन्ने कुरा भुल्नु हुदैन ।

अन्तिम तथा सफल प्रयास

तीन-तीन पटकको असफल प्रयास तर सन्तान प्राप्तिको को प्रगाढ इच्छाले मलाई शान्त रहन दिएन। झन् बेला-बेलामा साथी-संगी, इष्ट मित्रको बिचारा भन्ने भाव, छिमेकीले पर बाट कुरा काट्दा, च्वास्स बिझेको यो मुटुले मलाई आँखा मै हेरेर चुनौती दिएजस्तो लाग्यो। म हार्न सक्दिन तर यसै सफल पनि हुन सक्दिन भन्ने विचार आयो र मैले यसपालि सशक्त भएर अन्तिम प्रयास गर्ने निर्णय गरें। यी साना तथा महत्वपूर्ण कुरा जुन मेरा लागि महत्वपूर्ण भए त्यो तपाईंका लागि पनि महत्वपूर्ण हुन सक्छ।

यसरी गरिएको तयारीले म दुवै नतिजाका लागि तयार थिएँ । यस पालि हामी सफल भएछौं। Twin Pregnancy हाम्रो भाग्यमा आएको रहेछ। सायद यही संयमता को कमि थियो। यसले मलाई जीवनलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गरेको छ।

मैले सिकेका सिकाईहरु :

News and Articles

You may also like

Untitled design (28)

PCOS and Infertility: Causes, Symptoms, and Treatment

Introduction Polycystic Ovary Syndrome (PCOS) is a complex hormonal condition that affects a significant percentage of...

navigating

Female Hormones: Understanding Their Role in Women’s Health

Introduction Hormones play a crucial role in the health and well-being of women at every stage of life. From regulating...

Untitled design (29)

Male Infertility Treatment: Best Medical and Natural Solutions

Introduction Male infertility contributes to nearly 40–50% of being unable to conceive naturally making it a majo...

WhatsApp-icon
phone-icon