1 year ago, 26 minutes read

जीवनका हरेक मोडहरु नयाँ चुनौती र बाधाहरुले भरिएका हुन्छन् तर ती चुनौतीबाट हासिल गरिने सिकाइले नै हामीलाई सफलता दिलाउन भूमिका खेल्छ। करिब ५ वर्ष अघि विवाह बन्धनमा बाँधिदा जीवनमा यस्तो समस्या पनि आउन सक्ला भन्ने लागेकै थिएन तर जीवन न हो, सबै सोचे र चाहे जस्तै कहाँ हुन्थ्यो । बिहेको ३ वर्ष पश्चात् मलाई आमा बन्न इच्छा लाग्यो । तर अन्योल र अनिश्चितताले घेरेको जीवनमा सजिलै आमा बन्न भने मेरो भागमा रहेनछ । एक वर्षसम्म जति कोसिस गर्दा पनि सफलता नमिल्दा म र मेरो श्रीमान् बिचको सम्बन्ध पनि खल्लो हुन थालेको थियो । जीवन नीरस लाग्दै थियो भने हामीलाई खुसी हुन नै कठिन हुन थालेको थियो । समाजमा बस्न पनि गाह्रो हुदै गएको थियो । नेपाली समाजको बनावट छ नै त्यस्तो, कसलाई दोष दिन मिल्यो र । तर हिम्मत नहारी वैकल्पिक बाटो प्रयोग गर्ने निर्णय गरियो । यही क्रममा हामीलाई IVF को बारे थाहा भयो ।

के हो IVF ?

सरल रुपमा भन्नु पर्दा – “प्राकृतिक रुपमा गर्भधारण हुन नसक्दा प्रयोगशालामा दम्पत्तिकै शरीरबाट डिम्ब र शुक्रकिट लिई भ्रूण सृजना गरी आमाको पाठेघरमा हालिन्छ र महिलालाई गर्भवती बनाइन्छ। यही प्रक्रियालाई नै IVF भनिन्छ ।” नेपाली समाजमा समस्याजनक मानिने धेरै कुराहरु मध्ये यो पनि एक हो । तर अबको जमाना त्यस्तो रहेन । अहिले त प्रकृतिले हामीलाई दिन नसक्ने कुराहरु पनि प्रविधिले पुरा गर्न सक्ने भएको छ । त्यसैले हामीले पनि एक पल्ट प्रविधिलाई मौका दिने निर्णय गर्यौं ।

पहिलो IVF यात्रा

२ वर्ष अघि हामीले पहिलो पल्ट IVF को बाटो प्रयोग गर्यौ । हाम्रो जीवनमा फेरि आशाको किरण झुल्केको थियो ।  त्यस दिन पनि मैले एउटा कुरा महसुस गरेँ - आज बादल लागी आकाश अँध्यारो भएपनि भोलिको घामको आशा भने आजै मार्नु हुदैन । सबै पहिले जस्तै हुन्छ झैँ लाग्यो-खुसी, सुख र हर्षले फेरि जीवनमा बास खोजेको महसुस हुँदै थियो । हामीले यो प्रक्रियाको लागि आवश्यक पर्ने सबै थोक गर्यौ र अब ढुक्क भइ बस्यौ । सुने-बुझे अनुसार लागेको थियो, अब त जीवनमा चमत्कार नै हुन्छ । म आमा बन्छु । मैले यतिका वर्षसम्म देखको सपना साकार हुँदै थियो । डाक्टरमाथि पुरापुर विश्वास थियो । प्रक्रिया अलि पीडादायी थियो तर सन्तान प्राप्तिको आशाको अघि त्यतिका सुइ, औषधि र परीक्षणहरुको केही लागेन किनभने हाम्रो सम्पूर्ण ध्येय सकारात्मक नतिजा प्राप्त गर्न केन्द्रित थियो । भ्रूण स्तानान्तरणको करिब दुइ हप्ता जस्तो पछाडि हाम्रो रिपोर्ट आयो ।

रिपोर्ट मेरो हातमा थियो, मेरो मन उत्सुकताले चार कोस माथि उफ्रिन थालेको थियो । मलाई जीवन्त महसुस हुँदै थियो । मैले रिपोर्ट खोलेँ । रिपोर्टमा असफल भन्ने शब्द थियो, त्यहीँ मेरो आखा सबैभन्दा पहिले गयो । त्यसपछि के भयो मलाई केही थाहा छैन, बस यति थाहा छ कि हामीले सपनाको घर ठड्याउन हालेको जग पनि भत्किन लाग्दै थियो । मेरो आँखा अघि कालो पर्दा जस्तो केही छायो र त्यसमा ठुलो अक्षरमा सेतो रंङले "असफल" लेखिएको थियो । असफलताको जति तितो स्वाद सायदै अरू कुनै कुराको हुँदो हो । मलाई केही पनि पत्याउनै गाह्रो भइरहेको थियो । यो सब एक नराम्रो सपना भइदिए हुन्थ्यो नि भन्ने लाग्दै थियो । हाम्रो यत्रो आशा, लगानी र दुःख सबै पानीमा गयो । त्यस दिन म एकदम भक्कानिएर रोएँ । भएको एउटा झिनो आशाले पनि काम गरेन । डाक्टरको सल्लाह अर्को कोसिस गर्नुस् भन्ने थियो । तर म एकदम टुटिसकेकी थिएँ, शारीरिक र मानसिक दुबै किसिमले । मेरो शरीरले एकदम नै पीडा भोगेको थियो । मैले एक महिना जति आराम गरेँ । त्यो एक महिनामा मैले हरेक दिन आफूलाई सम्हाल्नमा लगाएँ। आफ्नो ख्याल हामी आफैंले भन्दा राम्ररी अरू कसैले राख्न सक्दो रहेनछ भन्ने बुझेँ ।

दोस्रो IVF यात्रा

एक महिना पश्चात् फेरि एक पल्ट कोसिस गर्ने निर्णय गरियो । पछि सर्न हामीसँग उपाय थिएन । गुमाउनलाइ केही पनि थिएन । एक पल्टको असफलता पछि फेरी कोशिश गर्न मिल्ने नमिल्ने कुराको कुनै ज्ञान थिएन । डाक्टर संग सोध्यौ र उहाले भन्नु भयो “अरे किन चिन्ता लिनु भको, पहिलो IVF प्रक्रियाको असफलता पछिको ४ देखि ६ हफ्ता पश्चात नै अर्को पल्ट फेरी IVF गर्न मिल्छ ।” तर अब पैसा जुटाउन भने सोच्नु पर्ने थियो । जोखिम नमोली के नै पाइन्थ्यो र त्यसैले हामीले हाम्रो बचत रित्तो पारेर भए पनि कोशिश गर्ने निर्णय गर्यौं र डाक्टरकोमा गर्यौं । एक पल्ट फेरि आशाले हाम्रो मनमा ठाउँ लियो । मेरो शरीरलाई फेरि त्यही पीडाबाट गुज्रिनु पर्ने थियो र पनि मलाई हार मान्नु भने थिएन । फेरि मेरो शरीरमा कैयौँ सुइहरु घोपियो, विभिन्न परीक्षणहरु गरियो । अब बस नआत्तिएर पर्खिनु पर्ने थियो । पहिलो असफलतापछि म धेरै कमजोर भएका कारण यसपल्ट मेरो शरीरलाई अझ धेरै पीडा भएको महसुस हुँदै थियो । मानसिक रुपले पनि अलि कमजोर नै थिएँ । आत्मबल जुटाउन नै गार्हो थियो तर जसो तसो आफूलाई सम्हालिरहेकी थिएँ म आफैले । दुइ हप्ता जस्तो कुरिसकेपछि हामीलाई अस्पतालबाट कल आयो र रिपोर्ट लिन आउन भनियो । मेरो मनमा फेरि एक पल्ट हुण्डरी चल्न थाल्यो । मलाई फेरि त्यो रिपोर्टमा असफल भन्ने शब्द देख्न मन थिएन । रिपोर्ट लिन गइयो, मसँग रिपोर्ट पढ्न हिम्मत नै थिएन । मैले मेरो श्रीमानलाई रिपोर्ट हेर्न भनेँ अनि उहाँको अनुहार पढ्न थालेँ । उहाँले रिपोर्ट हेर्नु भयो । उहाँको मुहारमा विस्तारै अँध्यारो छाएजस्तो भयो । त्यति देखेर मैले बुझे र कति बेला मेरा आँखा बर्सन थालेछन् पत्तै पाइँन । हामी एकपल्ट डाक्टरलाई भेट्न गयौं । त्यहाँ हामीलाई सकेसम्म सम्हालिन भनियो तर मेरो मन ? मेरो मनलाई, मेरो यति पीडा भोगेको शरीरलाई र मेरो सपनालाई दिन उपयुक्त जवाफ म भेट्नै सकिरहेकी थिइँन । डाक्टरकोमा हामी लामो समय बस्यौं र हामीलाई काउन्सिलिङ् दिइयो तर यो चोट यति गहिरो थियो कि कुनै कुराले पनि भुलाउनै सकिएको थिएन ।

घर फर्कँदा मलाई जीवनको सार भेट्न पनि गार्हो भइरहेको थियो । मैले आफ्नो अस्तित्व पनि सन्तान प्राप्तिसँग नै दाँज्न थालिसकेकी थिएँ र त्यो पनि यसरी पुरा हुन नसक्दा अब मलाई आफ्नो जीवनको अस्तित्व छैन जस्तो लाग्दै थियो । के मैले मातृत्वको स्वाद चाख्नै पाउँदिन त ? के म आमा बन्न योग्य नै छैन त ? यही प्रक्रियाको लागि हामीले हाम्रो बचत त्याग्यौ, निन्द्रा त्याग्यौ, भोक त्याग्यौ र सबै थोक यसैमा लगानी गर्यौं तर अहँ आफू रित्तिएर पनि आफूले चाहेको यौटा सपना पनि साकार गर्न सकिएन ।  घर जाने यात्राभरि कुनै पनि शब्द मेरो वरपर गुन्जिएन । म र मेरो श्रीमान् दुवैसँग बोल्नलाई कुनै शब्द नै थिएन बस् सुरम्य शान्ति थियो तर मन भने दुवैको एकदम बेचैन थियो । यो शान्तिमा चर्को पीडाको चित्कार गुन्जिरहेको थियो । अब के गर्ने के नगर्ने केही पनि थाहा थिएन, म आफैसँग पनि नज़र मिलाउन सकिरहेकी थिइँन । एकातिर आमा बन्न नसकेको पीडा र अर्कोतिर बिग्रिरहेको मेरो श्रीमानसँगको सम्बन्ध । मलाई हर किसिमले हारिसकेको महसुस हुँदै थियो । मलाई जताबाट पनि समस्याले गाँजिरहेको थियो । म कतैबाट मदत माग्न पनि सक्ने अवस्थामा थिइँन । मेरो आफ्नै श्रीमान् सँगको सम्बन्ध पनि खल्लो हुन थालेको थियो । हामी बीच दिनहुँ जस्तो केही न केही कुरामा मनमुटाव भइ नै रहन्थ्यो । सानोभन्दा सानो कुरामा पनि एक जनाको असन्तुष्टि उब्जिने गरेको थियो । २ महिनासम्म म घरबाट पनि निस्किन सकिन । जीवनमा अन्धकार छाउन थालेको थियो । मैले विगतका कुरा भुलाउन कोसिस गर्न थालेँ । मलाई पहिल्यैबाट नाच्न मन पर्थ्यो र मैले त्यो समयमा आफ्नो त्यो सोखलाई अघि बढाउन थाले । इन्टरनेटमा आफूलाई भुलाउन कोसिस गर्न थाले । ६ महिनासम्म मैले मन भुलाउनको लागि हर चिज गरेँ । त्यो ६ महिनामा मैले विभिन्न बालबालिकासँग पनि समय बिताएँ । त्यही समयमा मलाई अलि बेर भए पनि मनमा शान्ति मिल्थ्यो । मैले दिनहुँ बिभिन्न सकारात्मक सोचहरुलाई बढावा दिँदै लेखहरू लेख्न थाले । मनका भावनाहरु कागजमा उतार्दा मनमा शान्ति छाउने गर्थ्यो ।

त्यस अवधिमा मैले आफूलाई दिएको समयले मलाई आफ्नो विगत पल्टाउने मौका दियो र धेरै कुराहरु सिक्नमा मद्दत पुर्यायो । विभिन्न स्रोत मार्फत मैले आमा बन्ने वैकल्पिक उपायहरुको बारे पनि थाहा पाएँ । असफलता जीवनको पाटो हो तर फेरि हिम्मत नगर्नु हाम्रो कमजोरी हुन जान्छ ।

तेस्रो IVF यात्रा

त्यही सोचका साथ मैले फेरि एकपल्ट उदाउने निर्णय गरेँ । मलाई फेरि एक पल्ट कोसिस गर्न मन जाग्यो र मैले यो प्रस्ताव मेरो श्रीमान् सामु राखेँ तर अब समस्या भने पैसाको थियो । पहिलेको दुइ पल्टको कोसिसमा हामी वित्तीय देखि लिएर हर किसिमले रित्तिएका थियौँ । हाम्रो बचत कत्ति पनि थिएन । अरु केही विकल्प पनि देखा परेको थिएन । फेरि एक पल्ट समस्या आइ पर्यो । त्यो बेला हामीले ऋण लिएर भए पनि फेरि कोसिस गर्ने निष्कर्षमा सहमति गर्यौ । कता कता मेरो शरीरले भोग्नु पर्ने पीडा सम्झिँदा चाहिँ मन कटक्क खाने गर्थ्यो तर यति नगरी कहाँ हुन्छ भनी फेरि आफूलाई  सम्झाउँदै अघि बढ्दै गर्नु पर्ने थियो । तेस्रो पल्ट फेरि मलाई कैयौं सुइहरु लगाइयो, विभिन्न टेस्टहरु गरियो र त्यही आशाले भरिएको चक्र फेरि दोहोरियो । मान्छेको मन न हो आशा गर्नु त नियम हो यसको । यस पटक पनि म धेरै आशावादी भएकी थिएँ । तर कता कता पहिलेको अनुभवले धेरै आशा गरे झन् धेरै दुःख लाग्न सक्छ भन्ने सिकाएको पनि थियो । यो पनि मनमा सम्झिँदै नै थिएँ तर असफलताको निराशा पनि एकातर्फ़ छँदै थियो । अब फेरि रिपोर्ट पर्खिनु पर्ने थियो । यसपालि मैले आफूलाई नकारात्मकताको लागि पनि अलि तयारी भने गराएकी थिएँ तर त्योभन्दा धेरै मलाई आशा नै लागिरहेको थियो । अघिल्लो दुइ पटक हुन नसकेको चमत्कारले तेस्रो मौका खोजेको पो थियो कि भन्ने लागिरहेको थियो । फेरी २ हप्ताको पर्खाइपछि रिपोर्ट पनि आयो ।

हामी फेरि रिपोर्ट लिन अस्पताल गयौँ । रिपोर्ट एस पल्ट पनि नेगेटिभ नै भएको थाहा भयो । एक पल्ट फेरि हामीले हारेका थियौँ । आफ्नो भाग्यदेखि लिएर विज्ञानका आविष्कारमाथि शङ्का जागेर आयो । मलाई आफ्नो कोख नै दोषी लाग्न थाल्यो । आफ्नै शरीरसँग घृणा भएर आउँथ्यो । यतिसम्म धोका आफ्नै शरीरबाट पाउनु पर्ला भन्ने त लागेकै थिएन मलाई । सुरुदेखिका हरेक कुरा आँखाअघि दौडिन थाले । मैले र मेरो शरीरले के मात्र भोगेन । कति पीडाबाट गुज्रिनु पर्यो हामी भन्ने याद आयो र एकैछिनमा फेरि आफ्नो शरीरमाथि दया माया जागेर आयो । त्यसपछिको मेरो आफै सँगको सम्बन्ध जोगाउने यात्रा अझ कठिन थियो । मैले विस्तारै विभिन्न समूहहरुमा जोडिएर पनि काम गर्न थालेँ । त्यस्ता समूह जसले मलाई बालबालिकासँग नजिक भएर काम गर्ने मौका प्रदान गर्थ्यो । त्यसले गर्दा मेरो मनलाई अलि भए पनि राहत मिल्थ्यो । मैले सन्तान सुखका अरु विभिन्न उपायहरुका बारेमा पनि जान्न र बुझ्नमा समय दिएँ । विस्तारै मेरो जीवन प्रतिको दृष्टिकोण सकारात्मक रुपले बदलिरहेको थियो जसले मलाई धेरै नै मदत गरेको थियो । म हरेक कुरामा सोचे बुझेर मात्र केही निष्कर्ष निकाल्ने भएकी छु । म हार्न भने सक्दिनँ र त अझै पनि सही समय आएमा सफलता नमिल्दासम्म कोसिस गर्न तयार छु ।

वैकल्पिक बाटो

आफुले सक्दो प्रयास गरिसक्दा पनि सफलता नमिल्दा खल्लो त लाग्छ नै तर त्यतिकैमा हार मानेर बस्नु भने हुदैन । IVF कै पनि ICSI, natural cycle IVF, conventional IVF, mild stimulation IVF, in vitro maturation(IVM), Frozen embryo transfer(FET), egg donor IVF, Gestational carrier IVF र embryo freezing जस्ता विभिन्न प्रकारहरु हुदा रहेछन । एक प्रक्रियाले काम गरेन भन्दैमा विश्वास नै तोड्नु नहुने रहेछ । प्रयास जारी राखे पो सफलता मिल्छ भन्ने कुरा भुल्नु हुदैन ।

अन्तिम तथा सफल प्रयास

तीन-तीन पटकको असफल प्रयास तर सन्तान प्राप्तिको को प्रगाढ इच्छाले मलाई शान्त रहन दिएन। झन् बेला-बेलामा साथी-संगी, इष्ट मित्रको बिचारा भन्ने भाव, छिमेकीले पर बाट कुरा काट्दा, च्वास्स बिझेको यो मुटुले मलाई आँखा मै हेरेर चुनौती दिएजस्तो लाग्यो। म हार्न सक्दिन तर यसै सफल पनि हुन सक्दिन भन्ने विचार आयो र मैले यसपालि सशक्त भएर अन्तिम प्रयास गर्ने निर्णय गरें। यी साना तथा महत्वपूर्ण कुरा जुन मेरा लागि महत्वपूर्ण भए त्यो तपाईंका लागि पनि महत्वपूर्ण हुन सक्छ।

यसरी गरिएको तयारीले म दुवै नतिजाका लागि तयार थिएँ । यस पालि हामी सफल भएछौं। Twin Pregnancy हाम्रो भाग्यमा आएको रहेछ। सायद यही संयमता को कमि थियो। यसले मलाई जीवनलाई हेर्ने नयाँ दृष्टिकोण प्रदान गरेको छ।

मैले सिकेका सिकाईहरु :

News and Articles

You may also like

banner_ivfpcos

PCOS Treatment in Nepal: A Complete Guide to Managing Symptoms and Boosting Fertility

Polycystic Ovary Syndrome (PCOS) is one of the most common hormonal disorders affecting women of reproductive age. If yo...

ivf treatment

Everything You Need to Know About IVF Treatment in Nepal

Infertility affects millions of couples globally, and as fertility treatments have advanced, more people have access to...

468714303_444736372004246_716671221639163990_n

Best IVF Center in Kathmandu: Why National IVF Led by Dr. Usha Karki Is Nepal’s Top Choice

Finding the best IVF center in Kathmandu is a deeply personal and life-changing decision. Whether you’re beginning...

WhatsApp-icon
phone-icon